नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र बिएण्डबी अस्पतालबीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधि र स्वास्थ्योपचारमा छुटका लागि शुक्रबार सम्झौता भएको छ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए।

उनका अनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्योपचारका क्रममा औषधि र स्वास्थ्योपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो।
उक्त सम्झौता आजैबाट लागू भई दुई वर्षसम्म रहनेछ। सम्झौतापत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आबद्ध सबै शाखाका सदस्य, पत्रकारका श्रीमान् /श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन्।
सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ। सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरि कार्की तथा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा.निरजलाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले हस्ताक्षर गरेका छन्।