काठमाडौं । डीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका ६ घर भई झापा दमक नगरपालिका ५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका १० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका ९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन ।
यस्तै स्याङजा चापाकोट गाउँपालिका २ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका ६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका १२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका ५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका ८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।
ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि प्लुसटुको नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको प्रहरीको आरोप छ ।
पक्राउ परेका उनीहरुमाथि लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।