काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुका स्थानीयहरूले समान रूपमा खानेपानीको वितरणको माग राख्दै नगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन्।
उनीहरूले आइतबार बिहान चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुमा रित्तो गाग्रीसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी भएका स्थानीयहरूले रित्ता गाग्री नगरपालिकाको मुख्य ढोकामा लामबद्ध रूपमा राखेका छन्। ती ग्रागीमा ‘एकीकृत खानेपानी योजना लागु गर’, ‘बलम्बुमा खानेपानी अभाव भयो, तपाईंले केही बोलिदिनु न प्लिज’, ‘खानेपानी ऐन तुरुन्त लागु गर’, ‘खानेपानी समस्याको दीर्घकालिन समस्या समाधान गर’ जस्ता प्लेकाड प्रर्दशन गरेका थिए ।
चन्द्रागिरि नगरपालि वडा नं. १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले खानेपानी समस्याका समाधानको प्रयास जारी रहेको बताए । उनले केहीदिन भित्रै अल्पकालीन रूपमा खानेपानीको समस्या हल गर्ने बताए ।
नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा विद्यमान खानेपानी उपभोक्ता समितिहरू एकीकृत रूपमा सञ्चालनका लागि नगर खानेपानी बोर्ड गठनको लागि आवश्यक तयारी भइरहेको बताए । अघिल्लो कार्यकालमै गर्ने तयारी भएको खानेपानी समिति एकीकरण केही नीतिगत कारण कार्य सम्पन्न गर्न नसकिएकोमा अब भने नीतिगत सुधार गरेरै उपभोक्ता समितिहरू एकीकरण हुने बताए ।
चन्द्रागिरि नगरपालिका १२ बलम्बूमा १२ हजार ९ सय ७७ जना मानिस बसोबास गर्ने गरेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाहरूमा करीब ३ दर्जन खानेपानी उपभोक्ता समितिहरू अस्तित्वमा छन् ।