आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युत्लाई पहिलो प्राथमिकतामा राखेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान०को २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जाबाटै तत्काल आर्थिक समृद्धि सम्भव हुने र सरकारले यसलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिएको बताए । त्यसका लागि सरकारले आवश्यक नीति निर्माण गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ । आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर सरकारले सोचिरहेको उनले बताए ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा सरकारको लक्ष्यअनुसार साढे २८ सय मेगावाट विद्युत् उत्पादन हुने दाबी गरे । त्यो लक्ष्य प्राप्ति गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने उनले बताए । मन्त्री बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ६०–७० प्रतिशत रहेको बताए । निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र त्यसपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि उनको भनाइ छ ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको सम्झौता निकै स्वागतयोग्य रहेको पनि बताए । ‘अहिले देश ऊर्जामय भएको छ,’ उनले भने, ‘सरकारलाई अबको दशक ऊर्जा दशक घोषणा गर्न माग गर्छु, साथै सरकारले अबको दशकलाई ऊर्जा संकटकाल लगाउनसमेत माग गर्दछु ।’ अहिले सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न माग गरिरहेको स्मरण गराए ।
‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, ऊर्जामन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रूपमा सम्मान गरेका हुन् । इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा ऊर्जा मन्त्रालयका सहसचिवद्वय नवीनराज सिंह र सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत र नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी रहेका छन् ।
त्यस्तै, वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधानसम्पादक विकास थापालाई सम्मान गरिएको छ ।