काठमाडौं । फागुन १४, नेपाल भलिबल संघको आयोजनामा आठौं आरबीबी/एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता चैत ३ गतेदेखि हुने भएको छ ।
पुरुषमा १२ तथा महिलामा ९ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । यद्यपि टिम दर्ताको अन्तिम मिति फागुन २५ गतेसम्म रहेको आयोजकले जनाएको छ ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही ४० हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागत ६ उत्कृष्ट खेलाडीलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ । यसै प्रतियोगिताबाट एनभीए लिगका लागि पुरुषमा ८ र महिलामा ६ टिमको छनोट गरिने अध्यक्ष चन्दले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक र आयोजक भलिबल संघबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ । बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र अध्यक्ष चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनवापत बैंकले संघलाई १८ लाख रुपैयाँ दिने भएको छ । प्रतियोगितालाई बैंकले मुख्य प्रायोजन गरेको लगातार छैटौं वर्ष हो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: