भोजपुर- पछिल्लो समय अलैँचीको मूल्यमा भएको वृद्धिका कारण भोजपुरका किसानहरू यसको खेती विस्तारमा जुटेका छन्।
गत वर्ष प्रतिमन रु एक लाखदेखि रु एक लाख दुई हजारसम्मको राम्रो मूल्य पाएपछि किसानहरू उत्साहित भएका हुन्।
अलैँचीको मूल्यमा निरन्तर गिरावट आएपछि केही वर्षअघि खेती छोडेका किसानहरू अहिले परम्परागत बाली हटाएर पुनः अलैँचीखेतीमा लागेका छन्।
अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टका अनुसार राज्यले प्राविधिक सहयोग उपलब्ध गराएमा किसानले अझ बढी आम्दानी गर्न सक्नेछन्। उनले रोग र कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा कृषि प्राविधिक राख्न आवश्यक रहेको बताए।
जिल्लामा हाल करिब ५९७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ। टेम्केमैयुङ–५ मा मात्र करिब १५० किसानले व्यावसायिक रूपमा अलैँची खेती गरिरहेका छन्। जिल्लामा रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँचीको खेती गरिन्छ।