५ चैत, काठमाडौं । श्रम रोजगारीका लागि कोरिया जान चाहने कामदारका लागि नयाँ बाटो खुलेको छ । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले १७ फागुनमा कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गरेसँगै कोरियामा श्रम रोजगारका लागि म्यानपावरमार्फत पनि जानपाउने बाटो खुला भएको हो । तर, म्यानपावरमार्फत पनि श्रमिक कोरिया जान पाउभएपछि श्रमिक ठगिने उच्च् सम्भावना भने बढेको छ ।
सरकारले श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड र प्रणाली विकास नगरी दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत सिपयुक्त श्रमिक पठाउन बाटो खोलिदिएको छ ।
१७ फागुनमा पदमुक्त भएका निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको निर्णयबाट जारी भएको कार्यविधि मन्त्रालयको २९ फागुनमा वेबसाइटमा राखिएको हो । कार्यविधिले प्रधानमन्त्रीले दिएको निर्देशन विपरीत कोरियामा सिपयुक्त श्रमिक म्यानपावरमार्फत लैजान सक्ने व्यवस्था गरेको छ । यसले परदर्शी रुपमा ईपीएसमार्फत कोरियामा श्रमिक पठाउने बसेको रोजगार अनुमति प्रणाली (ईपीएस)लाई नै प्रभावित गर्ने जोखिम छ ।
मन्त्रालयबाट जाँदा जाँदै मन्त्री भण्डारीले अपारदर्शी ढंगले प्रधानमन्त्रीको निर्देशन मिच्दै कार्यविधि जारी गर्ने निर्णय गरेको बताइन्छ । निवर्तमान श्रममन्त्री भण्डारीले सरकारीतबरबाटै सिपयुक्त श्रमिक पठाउने गरी भएको जापानसँग भएको सहकार्यको समझदारी विपरीत म्यानपावरलाई अनुमति दिने निर्देशिका जारी गरेका थिए ।
सोही निर्देशिकामा सामान्य फेरबदल गरेर कोरियामा श्रमिक पठाउन मन्त्रालयले बाटो खोलिदिएको हो ।
गत २३ फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्रीका रुपमा श्रम मन्त्रालयमा आएका थिए । श्रममन्त्री अर्याल पनि म्यानपावर कम्पनीकै पृष्ठभूमिकै व्यवसायी हुन् । ३ माघ २०७९मा श्रममन्त्री बन्दा उनी नयाँबानेश्वरको श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिमा ‘अन्तर्राष्ट्रिय बजार निर्देशक’ पदमा रहेको भन्दै आलोचना भएको थियो ।
दोस्रोपटक श्रममन्त्री भएर मनत्रालय फर्किएका अर्याललाई अब कोरियाको रोजगारीमा म्यानपावर कम्पनीहरूलाई घुसाउनेसहित विभिन्न अपारदर्शी निर्णय उल्ट्याउनुपर्ने जिम्मेवारी आइपरेको छ । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले गरेका विभिन्न विवादास्पद निर्णयहरु उल्ट्याउने र प्रधानमन्त्रीले दिएका निर्देशन पालना गर्ने भन्दै उनले सहसचिव गोबिन्दप्रसाद रिजालको नेतृत्वमा एक समिति नै बनाएर अध्ययन थालिसकेका छन् ।
