काठमाडाैं । आरोहीहरूका लागि खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना भएकाे छ । एभरेस्टको ९ एन एएनबी हेलिकोप्टरले अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोकिएर सामान्य क्षति पुगेको छ ।
पाइलट प्रिया अधिकारीले उडाएको उक्त हेलिकोप्टर बिहान ११ बजेर ५ मिनेटमा अवतरणरका क्रममा सन्तुलन नमिल्दा हेलिकोप्टरको पछाडिको भागमा सामान्य क्षति पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । ‘अवतरण गर्ने बेला पछाडिको भागले भुइँमा छोइएर असन्तुलन भएर सामान्य क्षति पुगेको जानकारी आएको छ,’ प्रवक्ता कँडेले जनाए ।
हेली एभरेष्टका चिफ एक्जुकेटीभ सिताराम सापकोटाका अनुसार म्याग्दीको इटालियन क्याम्पबाट आधारशिवरका लागि उडेको हेलिकोप्टरमा क्षति पुगेको खबरपछि पोखराबाट एयर डाइनास्टीको हेलिकोप्टर उद्धारका लागि पठाइएको । क्याप्टेन अधिकारीलाई डाइनास्टीको हेलिकोप्टरमा उद्धार गरेर फर्काइएको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।