काठमाडाैं । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले सरकारी सवारीसाधन प्रयोग नगर्ने घोषणा गरेकी छिन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्षलाई प्राप्त सवारी एम्बुलेन्स बनाएकी थापाले पालिकामा नयाँ एम्बुलेन्स आएपछि उपाध्यक्षलाई फिर्ता भएको सवारी प्रयोग नगर्ने बताएकी हुन् ।
उपाध्यक्ष थापाले सर्वसाधारण नागरिकसँगै सार्वजनिक सवारीमा यात्रा गर्ने बताइन्। अत्यावश्यक कामका लागि मोटरसाइकल र सार्वजनिक सवारी प्रयोग गरेर पालिकाको काम गर्ने, तर पालिकालाई खर्चको भार थपेर सरकारी सवारी नचढ्ने उनको भनाइ छ । ‘म निर्वाचित हुँदा पालिकामा एम्बुलेन्स थिएन । मलाई प्राप्त सवारी नै एम्बुलेन्सको रूपमा चलाएँ । अहिले हामीले एम्बुलेन्स ल्याइसकेका छौँ, अब पनि म सरकारी सवारी नचढ्ने निर्णयमा छु ।’