काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा नेपाल आउने तय भएको छ । उनले १४ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले त्यसअघि नै टीआरसी विधेयकलाई अघि बढाउन चाहेका छन् ।
प्रचण्डले भदौ अन्तिम साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री प्रचण्डले त्यस अगाडि नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित गर्ने प्रयास गरेका थिए । तर सहमति जुटेन ।
कानुन न्याय तथा मानव अधिकार समिति अन्तरगतको उपसमितिले सहमतिका आधारमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन तष्यार पारेको छ । त्यसमा केही विषय भने शीर्ष नेताहरुले टुंग्याउनुपर्ने छ ।
शुक्रबार भएको भेटमा पनि टीआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताइएको छ ।